Hamro Sanchar

नेपालमा लोाडसेडिङ हुँदैन, केही समयको प्राविधिक समस्या हो : कुलमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ५ गते


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा विद्यूत आपूर्ति नहुँदा उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर नाफा कमाउन खोजेको आरोप लगाएका छन् ।

आज काठमाडौंमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपालमा अब लोडसेडिङ नहुने बताए ।

उनले अहिले पनि लोडसेडिङ नभएर प्राविधिक समस्यामात्र रहेको भन्दै नकारात्मकतामा रमाउने जमातले गलत हल्ला चलाएको दाबी गरेका छन् ।

घिसिङले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ । नेगेटिभिटी देखाएर कसरी कसरी आफ्नो लागि कमाउने भन्ने जमात छ । अहिले उद्योगले बत्ती पाएनौं भनेर सामानको भाउ बढाउन थालेको पनि सुनेको छु । हिजो जनतालाई २०÷२२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएका हुन् । त्यो नाफाको पैसा तिर्नुपर्दैन डेडिकेटेड ट्रंकलाइनको ? अहिले प्राविधिक कारणले २–४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो । नेपालमा लोाडसेडिङ हुँदैन, भएको छैन, केही समयको प्राविधिक समस्या हो ।’

घिसिङले तामाकोशी आयोजना बाढीले बिगारेको कारण केही समय समस्या परेको बताए ।

उनले मर्मतको काम सकिन लागेकोसमेत जानकारी दिए । उनले लोडसेडिङको बहाना पारेर उद्योगीले उत्पादनको मूल्य बढाउन खोजेको आरोपसमेत लगाए ।


प्रतिकृया दिनुहोस्