Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पर्यटन मन्त्री पाण्डेले दिए आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सांसद राजेन्द्र बजगाईंविरुद्ध पार्टीमा उजुरी दिएका छन्।

कांग्रेस सांसद बजगाईंले शृंखलाबद्ध रूपमा आफूविरुद्ध कुप्रचार गरेको भन्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा पाण्डेले उजुरी दिएका हुन्।

अनुशासन समितिमा बिहीवार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृंखलाबद्धरूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कुप्रचार गर्दै आएकोले उपयुक्त कारबाही गर्न पाण्डेले उजुरीमा माग गरेका छन्।

उजुरीमा उनले भनेका छन्, ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धाबा बोल्ने गरी लगाएका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।’

व्यावसायिक पृष्ठभूमिका सांसद बजगाईंले पर्यटनमन्त्री पाण्डेमाथि एक क्यासिनोलाई इजाजत दिँदा करोड घुस खाएको भन्दै मंगलबार सामाजिक सञ्जलमा लेखेका थिए। पछि बजगाईंले पाण्डेविरुद्धका सबै पोस्टहरू हटाएका थिए।

पाण्डेको लिखित उजुरीमा भनिएको छ, ‘मन्त्रीको सपथ ग्रहण भएको मितिदेखि शृंखलाबद्धरूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मान मर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस(रिसवतजस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउनेजस्ता कलुषित, अमर्यादित र गैरकानुनी कार्य गरी आउनुभएको छ। यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगीकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्‍याएको छ।’

उनले निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन आफू दृढ संकल्पित रहेको भन्दै उजुरीमा लेखेका छन्, ‘बजगाईंका अवाञ्छित, अराजक र गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धति, मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलंघन गरेको छ। प्रतिनिधि सभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानुनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानुनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिदिनुहुन अनुरोध गर्दछु ।

 


प्रतिकृया दिनुहोस्