
दाङ, साउन १९- रोल्पामा पहिरोमा घरसँगै पुरिँदै बेपत्ता रहेका नातिनीको पनि शव भेटिएको छ ।
सिउरी पहिरोमा परेका मध्ये झन्डै ७० वर्षीया बज्यै बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको थियो भने ४ वर्षीया नातिनी माया सुनारको पनि शव भेटिएको हो ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले पहिरो पन्छाउने क्रममा नातिनी मायाको शव पनि फेला परेको बताए ।
जिल्लाको सुनछहरी गाउँपालिका-४ कामी डाँडामा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुर्दा उनकी आमा र छोरी बेपत्ता भएका थिए ।
शुक्रबार राति माथिबाट झरेको पहिरोका कारण देउसिंहको एक तले कच्ची घर पुरिएको थियो ।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए । सूचना पाउनासाथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएको थियो ।
शनिबार बिहान घटनास्थलमा इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा थप प्रहरी खटाइएको थियो ।
शुक्रबार देउसिंह र उनकी श्रीमती भने कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ ।


















