
दाङ । दाङको तुलसीपुरमा खोलाले अटो रिक्सा बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन् ।
तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई शुक्रबार राति तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर-४ खाद्रेकी ५५ वर्षीया सिता आले र सुर्खेत घर भई खाद्रे बस्ने १६ वर्षीया मन्जु खड्का बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान आलेको शव तुलसीपुर -१५ ग्वार खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
खोलाले अटोसहित ५ जनालाई बगाएकोमा चालकसहित तीन जनालाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाले बताए । बेपत्ताको खोजी भइरहेको उनले जानकारी दिए ।
यसैगरी शुक्रबार राति नै तुलसीपुरबाट बिजौरीतर्फ गइरहेको रा १ ह २३५७ नम्बरको अटोलाई तुलसीपुर-७ पर्सेनीस्थित काला खोलाले बगाएर चालक पर्सेनी निवासी दुर्गाबहादुर पुन घाइते भएका छन् ।
उनलाई अटोसहित १ सय मिटर तल बगाएकोमा उद्धार गरेको डीएसपी तिमिल्सिनाले बताए । घाइते पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको उनले जानकारी दिए