Hamro Sanchar

त्रिशूलीमा बेपत्ता बसमा लगाइएको पर्दा र यात्रुको एउटा ट्राउजर भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २९ गते


चितवन, असार २८- नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका बसको पर्दा भेटिएको छ ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको हो । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र यात्रु एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।

उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले बताएका छन् ।

१२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन् ।

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।


प्रतिकृया दिनुहोस्