Hamro Sanchar

बालेनको चेतावनी : नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३ गते


Advertisement

काठमाडौं, असार २- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर सभा बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) को धङधङी बोकेर नआउन चेतावनी दिएका छन् ।

कांग्रेस, एमाले, एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गरेर उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन् ।

काठमाडौं महागरपालिकाको आइतबार नगर सभा बैठक थियो ।

बैठक सुरू हुनपूर्व वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, ३२ का अध्यक्ष नवराज पराजुली र १७ का अध्यक्ष नवीन मानन्धर अलग्गै छलफल गरेका थिए ।

डंगोल एकीकृत समाजवादीका नगर सभा दलका नेता हुन् भने पराजुली एमालेका र मानन्धर कांग्रेसका हुन् ।

मेयर बालेनले नगर सभा बैठक सुरू गर्न लागेपछि कर्मचारीहरू तीन वडाध्यक्ष खोज्दै आएको र अलग्गै छलफल गरिरहेको थाहा पाएपछि मेयर बालेनले बैठक नगर सभा स्थगित गरेका बताइएको छ ।

यता मेयर बालेनले भने तीन जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन् ।

‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन् । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौ,’ मेयर बालेनले भनेका छन् ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा नरहने उनको भनाइ छ ।

‘१६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ। बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन,’ उनको तर्क छ ।

मेयर बालेनले काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन पनि भनेका छन् । नगर सभा बैठक असार १० गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।


प्रतिकृया दिनुहोस्