Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यपुस्तक आजबाट कार्यान्वयन, संस्कृत भाषा अनिवार्य

सुदिप बर्देवा प्रकाशित : २०८१ जेठ, १७ गते


Advertisement

काठमाडौं, जेठ १७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले कक्षा १ देखि  ८ सम्मको स्थानीय पाठ्यपुस्तक कार्यान्वयमा ल्याएको छ । नगरपालिकाले १०० पुर्णाङ्कको ‘हाम्रो कागेश्वरी मनोहरा’ नामको स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ सम्म एकै पटक कार्यान्वयन गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको आनन्द भैरव माध्यामिक बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्कीले कक्षा १ देखि ८ सम्मका बिद्यार्थीहरुलाई पुस्तक वितरण गरेर नगरपालिकाको स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएका हुन् ।

गतवर्षबाट पाठ्यक्रम आएपनि अहिले पूर्ण परिमार्जन सहित “तृतीय संस्करण” पाठ्यपुस्तक नै निर्माण गरेर वितरण गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय तहले पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने व्यावस्था छ । सोहि व्यावस्थालाई कागेश्वरी मनोहरा नगरपालिकाले पूर्ण कार्यान्वयन गरेको हो ।

मुल तथा विभिन्न उपसमिति निर्माण गरेर लामो समयको प्रयासपछि स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउन सकिएको नगरप्रमुख कार्कीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ” सस्कारयुक्त गुणस्तरीय शिक्षा, हाम्रो प्रतिवद्धता” आदर्श भावलाई आत्मासात गर्दै राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ एवंम् स्थानीय सराकार संचालन ऐन, २०७४ द्वारा प्रदत्त अधिकारको उपयोग गर्दै स्थानीय पाठ्यक्रमको मर्मअनुरुप, ‘हाम्रो कागेश्वरी मनोहरा’ नामक स्थानीय पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा आएको छ । स्थानीय पाठ्यक्रममा आधारीत यस पाठ्यपुस्तकले यसै नगरपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक तथा ऐतिहासिक पक्षका सर्वाञ्गाीण विकासका आयामहरुलाई विद्यालय तहदेखि नै मजबुत बनाउने छ ।”

नगरप्रमुख कार्कीले, प्रस्तुत पाठ्यपुस्तकको अध्ययन अध्यापन पश्चात कक्षा १ देखि ८ सम्मक्का विद्यार्थीवर्गमा यस नगरपालिकाको विविध पक्षका बारेमा विशेष आधारभुत ज्ञान प्राप्त हुने बिश्वास व्यक्त गरे ।

पाठ्यपुस्तकभित्र विशेष गरेर नगरपालिका भित्रका प्रचलित धर्म, संस्कृती र पम्परा, स्थानीय पेसा व्यावसाय सीप र प्रविधी, स्वास्थ्य सरसफाई, योग जडिबुटी र सकारात्मक व्यावहार, सूचना सञ्चार प्रविधी, व्यवहारिक लेखन र विपद् जोखिम न्यूनीकरण तथा हाम्रै मौलिक सस्कृति भाषालाई समेत पाठ्यपुस्तकमा समेटिएको छ ।

स्थानीय पाठ्यपुस्तक, नगरपालिकाका  १६  वटा सामुदायिक विद्यालय तथा ८८ संस्थागत गरी कक्षा १ देखि ८ सम्मका ३५ हजार ७ सय ५४ विद्यार्थीले अध्ययन गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिए ।

उनले प्रध्यानाध्यापक, विद्यालय व्यावस्थापन समिति, शिक्षा समिति, अभिभावक र नगरपालिकाका सवै सरोकारवालासंगको छलफल र आवश्यकताको आधारमा निर्माण गरिएकाले कार्यान्वयमा कुनै समस्या नरहेको बताए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्प ढकालले, विद्यार्थीहरुलाई विद्यालय स्तरबाट सीपयुक्त बनाउन स्थानीय कलासंस्कृतिससंगै व्यावहारिक पेशा व्यावसायका सीप र बिपद्का विषयवस्तु समेत पाठ्यपुस्तकमा समेटिएको बताए ।

विद्यालय स्तरको पढाई सकिए लगत्तै समुदायमा व्यवहारिक र स्वरोजगार बन्न पाठ्यपुस्तकले प्रेरित गर्ने उनको भनाइ छ ।

 


प्रतिकृया दिनुहोस्