काठमाडौं, बैशाख २३- मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि सुदूरपश्चिममा शनिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन शुक्रबार बोलाएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शनिबार सारिएको थियो । तर शनिबार पनि एमालेले आनाकानी गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
यता अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनका लागि हतार नगर्न आफ्न नेताहरूलाई निर्देशन दिएका छन् ।
शनिबार राति अबेर सूदुरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र रावल सहितका नेताहरूसँगको भेटमा एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
पछिल्लो समय सत्ता गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढिरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौं आएका थिए ।
अध्यक्ष ओलीको निवास बालकोटमा दुई घण्टा बढि भएको छलफलमा यस्तो विश्वासको मत लिनका लागि अझै समय भएको बताएको संसदीय दलका नेता रावलले जानकारी दिए ।
सोडारीको मुख्यमन्त्री नियुक्तिमा पनि एमालेले आनाकानी गरेको थियो । केन्द्रीय सत्ता गठबन्धनमै दरार उत्पन्न हुने अवस्था आएपछि मात्र सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार भएको थियो । समाजवादीको सचिवालय बैठकले संसदीय दलका नेता सोडारीलाई नै मुख्यमन्त्रीमा अघि बढाउने औपचारिक निर्णय गरेपछि एमाले पछि हटेको थियो । सोडारीलाई एमाले, माओवादी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसदको समर्थन थियो । त्यसबेलाका समर्थक दल तथा सांसदहरूको संख्याका आधारमा सोडारीले २८ मत पाउने अवस्था छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको आवश्यकता पर्छ ।
मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्छ ।