Hamro Sanchar

भूकम्पमा परी २२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १२ गते


Advertisement

भक्तपुर, वैशाख १२- २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल अहिले कक्षा ४ मा पुगेका छन् । उनी भक्तपुर नगरपालिका–२, मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलबाट कक्षा ३ उत्तीर्ण गरी ४ मा पुगेका हुन् ।

भूकम्पले घर भत्काएपछि भित्रै पुरिएका त्यो बेलाका पाँच महिने बालक सोनिशलाई २२ घण्टापछि नेपाली सैनिकले उद्धार गरेका थिए । त्यसपछि चर्चामा आएका सोनिश अहिले पनि ‘सेलिब्रेटी’ कै रूपमा छन् ।

मंगलबार भक्तपुर नगरपालिका वडा–१० कमलविनायकस्थित सोनिशको घर पुग्दा उनी एक्लै थिए । उनको घरको घण्टी बजाउँदै गर्दा उनले नै हतपत आएर मूलढोका खोले । बुबाआमा दुवै काममा र एक दिदी स्कुल गएकाले आफू एक्लै घरमा भएको उनले बताए ।

टेलिफोन सम्पर्कका सोनिशकी आमा रश्मिलाले घर चलाउन आफू पनि काममा जाने गरेको सुनाइन् । सोनिशका बुबा चालक (ढुवानी सामान बोक्ने) हुन् । उनले घरघरमा गएर सफा गर्नेलगायत मजदुरीको काम गर्न आफू बिहानै निस्किने गरेको बताइन् ।

भूकम्पले घर भत्काएपछि लामो समय कोठाभाडामा लिएर बसेको अवाल परिवारले अहिले पुरानै जगमा अस्थायी संरचना बनाएको छ ।

आफ्नो भएको जग्गा बाटोको मापदण्डमा परेको र अन्यत्र घर बनाउने जग्गा नभएकाले पुरानै ठाउँमा नक्सा पासबिनै अस्थायी टहरो बनाएर कोठाभाडा तिर्नुपर्ने बाध्यताबाट मुक्त भएको रश्मिलाले बताइन् ।

‘मापदण्ड छाडेर घर बनाउने हो भने तीन फिट जग्गा मात्र बाँकी रहन्छ,’ रश्मिलाले दुःखेसो पोखिन्, ‘त्यही कारण नक्सा पास गरेर पक्की घर बनाउन पाइएन।’ यो समाचार नागरिक दैनिकमा छ ।


प्रतिकृया दिनुहोस्