Hamro Sanchar

गठबन्धनमा खटपटका बिच देउवा र माधवबिच गोप्य भेट, के-के भए छलफल ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ६ गते


Advertisement

काठमाडौं, बैशाख ६- सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । उनीहरूबीच काठमाडौं गोल्फुटारस्थित एक नेताको घरमा बुधबार साँझ भेटघाट भएको स्रोतको दाबी छ ।

यसको स्वतन्त्र पुष्टि भने भएको छैन । पार्टी सचिवालय बैठकबाट दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री प्रस्ताव गरेर नेपाल देउवालाई भेट्न गएका हुन् ।

सत्ता गठबन्धनमा खटपट र वैकल्पिक गठबन्धनको कुरा भइरहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन नेकपा एसले पनि साथ दिने भन्दै सत्ता गठबन्धनलाई चुनौती दिएको थियो ।

स्रोतका अनुसार देउवा र नेपालीबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र केन्द्रमा वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भएको छ । अहिले नेकपा एस सत्ता गठबन्धनबाट बाहिरिए प्रदेशतर्फ मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धन बाहिरबाट सरकार बन्न सक्छ । नेकपा एस एमाले, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी (जसपा) पनि बाहिरिन सक्ने कांग्रेसको बुझाइ छ ।

नेपाली कांग्रेससहितको अर्को गठबन्धन बनेमा तत्कालको अंक गणित भने वर्तमान सरकारकै पक्षमा देखिन्छ । एमाले र माओवादी केन्द्र एकै ठाउँमा रहेसम्म सत्ता गठबन्धनमा दरार उत्पन्न हुने अवस्था छैन ।

अहिले सत्ता गठबन्धनमा ३२ सांसद माओवादी केन्द्रका, ७८ सांसद एमालेका, २१ सांसद रास्वपाका, १२ सांसद जसपाका, १० सांसद नेकपा एसका र चार सांसद नाउपाका छन् । सत्ता गठबन्धनसँग १५७ सांसद छन्। यसमध्येको नेकपा एस बाहिरिँदा गठबन्धनमा १४७ सांसद हुन्छन् । नाउपामा विवाद छ ।


प्रतिकृया दिनुहोस्