Hamro Sanchar

आज हिउँदे अधिवेशनको अन्तिम बैठक, कांग्रेसले आज पनि चल्न नदिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २ गते


Advertisement

काठमाडौं, बैशाख २- संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ । आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यद्यपि संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् । गिरीका अनुसार आजको कार्यसूचीमा कुनै फरक पर्नेछैन् । बिहान ११ बजेको संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा संभावित कार्यसूचीका बारेमा छलफल गरिने गिरीको भनाइ छ ।

गिरीका अनुसार आजको संसद बैठकको अन्तिममा राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउने छन् । आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ । त्यस अघि गत चैत २८ गते बसेको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएको छ । आजको संसद बैठक बस्नु अघि कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । ​


प्रतिकृया दिनुहोस्