
काठमाडौं, माघ १५- शहिद दिवसको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ मा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, काठमाडौंको आयोजनामा वडाको जेष्ठ नागरिक पार्कमा वृक्षारोपण तथा पुन: रोपण कार्यक्रम गरिएको हो ।
वडाअध्यक्ष प्रकाश फुयालको प्रमुख आतिथ्यमा पार्टीटार नजिकै रहेको जेष्ठ नागरिक पार्कमा १३ वटा गोल्डेन धुपी र ७ वटा एभोगाडो गरि २० वटा विरुवा रोपिएको हो ।
उक्त पार्कभित्र रहेका केहि विधुतीय सामाग्री चोरी र अबस्थित भएको भेटिएको थियो । वडाअध्यक्ष फुयालले आजबाटै सामाग्री खरिद गरि ब्यबस्थित तरिकाले पार्कको रेखदेख गर्न स्थानीयलाई अनुरोध गरेका थिए । उनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
यस्तै डिभिजन वन कार्यालय, काठमाडौंका कार्यकारी अधिकृत शिवराम थापाले टाढाको भन्दा नजिकको मान्छेले नै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने भन्दै नगरपालिकाका अन्य स्थानमा पनि यस्ता कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।
कार्यक्रममा वडासदस्यहरु कपिल खनाल, बिकाश केसी, रूपमती भण्डारी र यस क्षेत्रका वन अधिकृत कुमार गुप्तासहित विभिन्न सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
वन मन्त्रालयले माघ १४, १५ र १६ गते वृक्षारोपण सम्बन्धि बिबिध कार्यक्रम गर्दै शहिद दिवस मनाउने गरेको छ ।
शहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो । नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ । राणा शासनविरूद्ध लडेका शहिदहरूको सम्झनामा शहिद दिवस मनाउन थालिएको हो । यस दिन शहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका शहिदहरूको सम्झना गरिन्छ ।
नेपालको पहिलो शहिद भनेर लखन थापालाई लिइने गरिन्छ ।