
काठमाडौं, माघ ९- अजित मिजारको न्यायका लागि क्रान्तिकारी दलित राजनीतिक सङ्गठनहरूले संयुक्त रूपमा पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेका छन् ।
क्रान्तिकारी दलित राजनीतिक सङ्गठनहरूमा एकीकृत दलित मुक्ति उन्मुलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र, संयोजक संयुक्त दलित अधिकार मञ्च नेपालले मङ्गलबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
जात व्यवस्था उन्मुलन मोर्चा नेपालका अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले माघ ६ गते अजित मिजारको न्यायका लागि सङ्घर्षरत कानुन व्यावसायिकहरूसँग छलफल, माघ ९ गते पत्रकार सम्मेलन, माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ २० देखि २५ गतेसम्म प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र माघ ३० गते सडक प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
दोस्रो चरणका कार्यक्रमहरू माघ ३० गतेपछि सार्वजनिक गर्ने सदस्य गजमेरले बताए ।
पाँचखाल नगरपालिका ७ का अजितको शव आठ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको शवगृहमा रहेको छ । उनले न्याय पाउन नसकेकाले परिवारले उनको अन्तिम संस्कार गर्न नपाएको क्रान्तिकारी दलित राजनीतिक सङ्गठनको आरोप छ ।
विगत आठ वर्षदेखि अजितको परिवार न्यायका लागि सङ्घर्ष गरिरहेको छ । जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरले अजितमाथि न्याय गर्न नसकेको क्रान्तिकारी दलित राजनीतिक सङ्गठन गुनासो छ ।
सर्वोच्च अदालतमा आगामी फागुन ८ गते पेसी तोकेको छ ।























