
काठमाडौं, पुस १५- सामान्यतया जुनसुकै बिषयमा झगडा, बिबाद र द्वन्द्व भएमा अदालतमा पुगेर मुद्धा दायर गर्ने र लामो समय पछि अदालती प्रकृयाबाटै हारजीत मार्फत छिनोफानो गर्ने पुरानो चलन हो । तर छोटो समय, बिबाद कम गर्दै बिबादित पक्षलाई समेत मेलमिलापमा लैजाने र दुवै पक्षलाई जीत-जीतको तहमा लैजाने प्रकृयाको रुपमा सामुदायिक मेलमिलाप शुरु भएको छ ।
केही समय अघिदेखि मात्र नेपालमा प्रयोगमा आएको मेलमिलापको अभियानलाई प्रभावकारी बनाउन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत आवाशीय तालिम सुरु गरेको छ ।
नगरपालिकाको न्यायीक समितिको आयोजनामा आइतबार(आज)देखी पुस २२ गतेसम्म ८ दिने (४८ घण्टे) आधारभूत आवाशीय तालिम सुरु गरेको हो ।
नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरकोटको रत्नागिरी रिसोर्टमा एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरेका छन् ।
तालिमको उद्घाटन गर्दै उनले तालिममा सहभागीलाई आ-आफ्नो वडामा तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गरे । तालीमबाट नगरपालिकाले दक्ष मेलमिलापकर्ता प्राप्त गर्ने बताए । मेलमिलाप कर्ताले कानुनलाई टेकेर दण्डित पनि गर्नुपर्ने भन्दै प्रशिक्षण पछि बिबाद समाधानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरे । उनले भने, ‘समस्या व्यक्तिबाट सुरु हुन्छ । यदि कसैले जघन्य अपराध गरेको छ भने, उसलाई दण्डित गर्नैपर्छ । मध्यस्थताकर्तामा घटना कहाँ, कसरी र किन भयो भन्ने बारे ज्ञान पनि हुनुपर्छ । शक्ति र अधिकार प्राप्त व्यक्तिहरु संबेदनशील भएर बिधि र विवेक पुर्याएर कार्य सम्पादन गर्नुपर्छ ।’
मेयर कार्कीले न्यायीक समितिमा परेको उजुरीको आधारमा मेलमिलाप गर्ने वारे कानुनमा भएको कानुनी प्रकृयाको वारेमा जानकारी लिन सहभागीहरुलाई आग्रह गरेका थिए ।
तालिम प्रदायक संस्था नेपाल इन्टरनेशनल एडी.आर सेन्टरका तर्फवाट बरिष्ट अधिवक्ता मातृका निरौलाले तालिमबाट सिकेर जाने सहभागीहरुले न्यायीक समितिले सम्पादन गर्ने कामहरुको गहन रुपमा बुझेर जान सहभागीहरुसँग आग्रह गरे ।
यस्तै उद्घाटन कार्यक्रमको अध्यक्षता गरिरहेकी उपमेयर तथा न्यायिक समिति संयोजक शान्ता थापाले आफुहरु तालिम लिन आतुर भएको भन्दै उपस्थित न्यायिक समितिका सदस्यलाई तालिम अवधिभर अनुशासित, ध्यान केन्द्रित र तल्लिन भएर उपलब्धिमूलक तालिम लिएर फर्कन अनुरोध गरिन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर-१ का वडाअध्यक्ष मुकुन्द प्रसाद गजुरेल, वडा नम्बर-६ का वडाअध्यक्ष प्रकाश फुयाल, वडा नम्बर-८ का वडाअध्यक्ष हरिभक्त पुडाशैनीले स्थानीय स्तरमा आएका समस्या, घटना र गुनासा सुनाउदै आफुहरुले गरिरहेको सकारात्मक प्रयत्नका बिषयमा बोलेका थिए ।
उक्त तालिमलाई बरिष्ट अधिबक्ता तथा मेलमिलाप परिषद सदस्य सुनिता रेग्मीको टोलीले नेतृत्व गर्ने बताइएको छ । न्यायिक समितिका रहेकाहरुलाई प्रशिक्षण अवधिभर रिसोर्टमै राखिने छ ।
उपमेयर थापाको अध्यक्षता तथा मेयर कार्कीको प्रमुख प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा तात्कालिन पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश केसरीराज पण्डित, वडा नम्बर ४ का वडाअध्यक्ष विजय श्रेष्ठ (घन), ९ का वडाअध्यक्ष अनिल थापा, न्यायिक समितिका सदस्यहरु, नगर सदस्यलगायत कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमलाई न्यायिक समितिका उजुरी प्रशासक मकरध्वज केसीले संचालन गरेका थिए ।