काठमाडौँ, पुस १५- माघ ११ गते रिक्त स्थानमा हुने राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्र अछामबाट जनयुद्धका घाईते तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष समेत रहेका दिपेन्द्रबहादुर रावल सहित १३ जना सिफारिस भएका छन् । १३ जना मध्ये तीन जना जिल्ला बाहिरका रहेका छन् ।
सिफारिस हुनेमा जनयुद्धका घाइतेतर्फ दिपेन्द्रबहादुर रावल, दलबहादुर साउद र टेकबहादुर विक रहेका छन् । खुलातर्फ रामप्रसाद तिमिल्सिना, दिपकबहादुर साउद र अमरबहादुर विक रहेका छन् ।
महिलातर्फ सरस्वती रावल, टंककुमारी विक र शोधरा शाही सिफारिस भएकी छिन् । यस्तै बुद्धिजीवीतर्फ बयलपाटा क्याम्पसका पूर्वक्याम्पस प्रमुख भरत स्वाँर सिफारिस भएका छन् ।
यसैगरी जिल्ला बाहिरका तीन जनाले पनि राष्ट्रियसभामा सिफारिस भएका छन् ।
चार महिने अभियानको क्रममा अछाम जिल्लामा क्रियाशील रहेका जंगबहादुर विक, सिद्धराज भाट डोटी र प्रकाश नेपाली कैलालीको नाम सिफारिस भएको इन्चार्ज ओमप्रकाश पुनले जानकारी दिएका छन् । पुनका अनुसार अन्य ८ जिल्लाबाट पनि ३÷३ जना सिफारिस भएका छन् ।