काठमाडौं, पुस १२- नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भइरहेको अन्तिम सुनुवाइ बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
बिहीबार प्रतिवादी सन्दीप लामिछानेको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, सबिता भण्डारीलगायतले बहस गरेका हुन् ।
यस्तै प्रतिवादी लामिछानेको तर्फबाट अझै केही वकिलहरूले बहस गर्न बाँकी नै रहेको सूचना अधिकारी पन्थीले बताए । प्रतिवादीको तर्फबाट बहस सकेपछि शुक्रबार जवाफी बहस समेत हुने सूचना अधिकारी पन्थीले बताए ।
यस मुद्दामा बहस सकेर फैसला शुक्रबार नै गर्ने सम्भावना रहेको छ ।