काठमाडौं, मंसिर २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले रुसी सेनामा करिब २०० नेपाली भर्ती भएको जानकारी आएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०० संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताए ।
नेपालीहरू भिजिट भिसा, अध्ययन भिसालगायतबाट रुस पुगेका थिए । ‘रुस पुगेका नेपालीहरूको खोजी कार्य भइरहेको छ,’ उनले भने ।
रुसी सेनामा गएका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताए । रुसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भएको यसअघि सरकारले बताएको थियो ।