
काठमाडौं, मंसिर १३- सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष समेत रहेका साहले आज गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै सो चेतावनी दिएका हुन् ।
कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रितपूर्वक आवेदन दिई लिखित परीक्षामा सामेल हुँदा त्यहाँ खटिएका कर्मचारी निरञ्जन शाक्यले छोरा राजा बाबु साहको कपी १५ मिनेट नियन्त्रणमा लिएको आरोप पत्रकार साहको रहेको छ ।
कपी नियन्त्रणमा लिएर परीक्षामा असफल गराउने नियत देखिएको आरोप पत्रकार साहले लगाएका छन् । उनले भने, ‘मेरो छोरालाई फेल गराउनकै लागि कपी नियन्त्रणमा लिनुभएको थियो ।’
पत्रकार साहले परीक्षा रद्द गरी पुनः अर्को परीक्षा लिन माग गरेका छन् ।
आफ्नो मागहरू मंसिर १७ गतेभित्र पुरा नभए नगरपालिका प्राङ्गणमा आमरण अनसन बस्ने चेतावनी समेत उनले दिएका छन् ।