
काठमाडौं, मंसिर १०- मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका एक युवकलाई राजधानीको ताहाचलबाट प्रहरीले बचाएको छ । मोरङ अटो वर्क्सले २८ हजार रुपैयाँ नतिरे मोटरसाइकल लैजाने र घर पनि लिलाम गर्ने धम्की दिएको ती युवकले फेसबुक लाइभमा बताएका थिए । उनले आत्महत्याको प्रयास गर्दै गर्दा काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो ।
उनले २ वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको लाइभमा बताएका थिए । अहिलेसम्म ४ लाख ५४ हजार रुपैयाँ तिरिसक्दा पनि १० गते (आज) सम्म २८ हजार रुपैयाँ नबुझाए बाइक पनि लैजाने र घर पनि लिलाम गर्ने धम्की मोरङ अटो वर्क्सले दिएको उनले लाइभमा बताएका थिए ।
काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले आत्महत्या गर्नै लाग्दा उनलाई ताहाचलबाट जीवितै उद्धार गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए ।