
पोखरा, मङ्सिर ९- भारतले अनुदानमा दिएको मुर्रा राँगा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पठाइएको हो ।
पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा फूलमालाले स्वागत गरिएको छ ।
सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै वीर्य सङ्कलनमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले बताए । उन्नत जातका मुर्रा राँगोबाट एकै पटकमा ३ सय डोज हाराहारी वीर्य सङ्कलन हुन्छ । १ वर्षमा १५ देखि २० हजार डोज सङ्कलन हुने पाण्डेको भनाई छ ।
यो निकै नै उन्नत जातको राँगो हो । नेपालमा भएका मुर्राबाट क्रस गराउँदा जन्मिने भैँसीले एक बेतमा एभरेज १५ सय केजी दूध उत्पादन हुन्छ । यो राँगाबाट क्रस गराउँदा ३ हजार केजी भन्दा बढी दूध उत्पादन दिन्छ ।