Hamro Sanchar

दुर्गा प्रसाईंका समर्थकलाई मध्यरातमा उठाउने युवा संघका सचिवालय सदस्य राईको टोली भएको खुलासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ६ गते


Advertisement

काठमाडौं, मङ्सिर ६- भोलि हुन लागेको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका दुर्गा प्रसाईंका समर्थकलाई राति पार्टी प्यालेसबाट निकालेका छन् ।

इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरुलाई निकालेका हुन् ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रसाईंका समर्थकलाई राति पार्टी प्यालेसबाट खेद्न युवा संघका सचिवालय सदस्य विनोद राईको टोली पुगेको खुलासा भएको छ ।

खोटाङ स्थायी घर भएका राईकै नेतृत्वमा पार्टी प्यालेस पठाइएको खुलेको छ। प्रसाईंले नेतृत्व गरेको कार्यक्रममा भाग लिन इटहरीदेखि काठमाडौँ आएका नागरिकलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेको आरोप लागेपछि भिडियोमा देखिएका व्यक्ति युवा संघका सचिवालय सदस्य राई भएको युवा संघकै एक नेताले बताए ।

विनोद राई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका बुझिएको छ ।

भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर ! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस’ भन्दै गरेको देखिन्छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’मा सहभागी हुन आएका समर्थकलाई खेद्न युवा संघका सचिवालय सदस्य विनोद राईलाई कसले पार्टी प्यालेस पठायो भन्ने खोजी शुरु भएको छ।

युवा संघले अस्वीकार गरेको छ भने आफूहरुको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भनेको छ ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि एमालेको चर्को आलोचना भएको छ । एमालेको भ्रातृ संस्था युवा संघदेखि नेतृत्त्वसम्मको चर्को आलोचना भएको हो ।


प्रतिकृया दिनुहोस्