Hamro Sanchar

महालक्ष्मी फलफुल तथा तरकारी बजारको उद्घाटन, किसानले उचित मुल्य पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २३ गते


Advertisement

ललितपुर, कात्तिक २३- ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर २ मा महालक्ष्मी फलफुल तथा तरकारी बजार ब्यबस्थापनको उद्घाटन गरिएको छ । वडाअध्यक्ष छिरिङ लामाको प्रमुख आतिथ्यमा सोमबार एक कार्यक्रमका बीच उद्घाटन भएको हो ।

बिदेशमा श्रम गरिरहेका र नेपालमा रहेका नेपालीहरुको करिब एक करोड बराबरको संयुक्त लगानीमा संचालित फलफुल तथा तरकारी बजारमा १२२ वटा स्टलहरु रहेका छन् ।

३ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त फलफुल तथा तरकारी बजार वडाको स्तुपा नजिकै इमाडोलमा रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामाले उत्पादित वस्तु बजारको समस्यालाई ध्यानमा राख्दै कृषकहरुलाई सहजीकरण गर्न अनुरोध गरेका थिए । उनले जनताको स्वास्थ्यमा समस्या आउने भएकाले स्वास्थ रहन विषादीयुक्त खाने कुराहरुबाट टाढा रहनु पर्ने बताउँदै स्वास्थ खान खानुपर्ने बताए । विषादीयुक्त तरकारी र फलफुल नल्याउन व्यवसायीहरुलाई अनुरोध गर्दै गरेका थिए ।

उक्त फलफुल तथा तरकारी बजार उदयमान बहुउदेश्यीय सहकारी संस्थाको सहकार्यमा स्थापित भएको सहकारीका अध्यक्ष तथा उद्घाटन कार्यक्रमका सभापति राजन शाहले जानकारी दिए । उक्त सहकारी पनि बिदेशमा श्रम गरिरहेका र नेपालमा रहेका नेपालीहरुको संयुक्त लगानीमा संचालन भैरहेको उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शाहले नेपाली कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरुको बजारीकरण गर्ने र आफुहरुले बजारहरुबाट सस्तो, सुलभ र सहज प्रकारले सेवा सुविधा पुर्याउने उदेश्य रहेको उनले बताए ।

बजारसम्म पुर्याएर व्यापारीलाई कमिसन दिएर बिक्री गर्दासमेत उचित मूल्य नपाईरहेको अवस्थामा आफुहरुले बजार मूल्यमा खरिद गर्दा किसानले उचित मूल्य पाउनेमा सभापति शाहले विश्वास व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्