काठमाडौं, कात्तिक १३- कुशल भुर्तेलको अर्धसतक प्रेरित नेपालले आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटमा विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । ब्याटिङ, बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गर्दै नेपालले सहज जित निकालेको हो।
जितसँगै नेपालले समूह ‘ए’ मा दुई अंक जोडेको छ। सिंगापुरले हारबाट प्रतियोगिता सुरु गर्यो । अब, नेपालले भोलि (मंगलबार) मलेसियासँग खेल्नेछ । समूहको अन्तिम खेल १६ कात्तिकमा ओमानसँग हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १६।२ ओभरमा २ विकेट गुमाएर जित निकालेको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ्स खेले। उनले ४८ बलमा ८ चौको र २ छक्का मद्धतमा ७४ रन बनाए।
यसअघि आक्रामक सुरु गरेका कुशलले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन बनाएका हुन्। उनको टी २० मा यो सातौँ अर्धसतक हो।
अर्का ओपनर आसिफ शेखले २६ बलमा दुई चौका र एक छक्कासहित २७ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २४ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो।
सिंगापुरको इनिङ्समा ओपनर रोहन रंगराजन सर्वाधिक ४६ रन बनाए । उनले ३० बलमा ९ चौका र एक छक्का प्रहार गरेका थिए । आर्यवीर चौधरीले २३ बलमा ३३ रन र विकेटकिपर मानप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर तथा कप्तान अरित्रा दत्त र चौथो नम्बर क्रिजमा पुगेका अमात्र्य कौल र अनान्था कृष्णा डक आउट भएका थिए।
सानदार बलिङ गरेको नेपालका तीन बलरले समान दुई विकेट हात पारेका थिए । तिव्रगतिका बलर अभिनाश बोहराले चार ओभरमा तीन विकेट लिएका थिए।
यसबाहेक करण केसी, गुल्शन झासहित लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट झारे। चार ओभरमा २१ रन खर्चिएका सोमपाल कामी विकेट विहिन भए।
वार्म अपमा घाइते भएपछि अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोली बाहिर रहे । उनको स्थानमा विवेक यादवलाई खेलाइएको थियो।
आइसिसी टी–२० विश्वकप छनोटमा नेपालसहित कुल आठ टिम सहभागी छन् । दुई समूहमा चार–चार टोली रहेका छन् । समूह ‘ए’का सबै खेल त्रिवि मैदानमा हुनेछ । यो समूहमा आयोजक नेपालसहित सिंगापुर, मलेसिया र ओमान छन्।
समूह ‘बी’का सबै खेलसहित सेमिफाइनल मूलपानी माथिल्लो मैदानमा हुनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।