काठमाडौं, असोज २६- राष्ट्रिय सभाले ‘राष्ट्रिय सभा नियमावली २०७५’ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।
समिति सदस्यहरुमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल, भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद, डा.विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर रहेका छन् ।
समितिले राष्ट्रिय सभा र समितिमा सुव्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेको कठिनाइहरु पहिचान गरि नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश गर्नेछन् ।
सो मस्यौदा समितिलाई पुष १४ गते सम्मको कार्यावधि दिइएको छ ।