Hamro Sanchar

पूर्वी उपत्यकाका पाँच नगर प्रमुखहरुको निर्णय : स्मार्ट सिटीको नाममा जग्गा फुकुवा नगरे कित्ताकाटको सिफारिस दिने 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १८ गते


काठमाडौं, असोज १८- काठमाडौं उपत्यकाका पूर्वी पाँच वटा नगरपालिकाका नगर प्रमुखहरुले स्मार्ट सिटीको नाममा रोक्का गरिएको जग्गा तत्काल नगरे कित्ताकाटको सिफारिस दिने निर्णय गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, शंकरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापित र मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठसहित सरोकारवालाहरुको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उनीहरुले यथाश्रीघ उक्त जग्गा रोक्का फुकुवा गर्न माग गर्दै संयुक्त विज्ञप्ति जारीसमेत गरेका छन् । नगरप्रमुखहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको को छ, ‘हालसम्म उक्त नयाँ शहर निर्माणको लागि विस्तुत परियोजना प्रतिवेदन (डिआरपी) लगायत कुनै पनि काम शूरु नभएको अवस्थामा उक्त जग्गा रोक्का भइरहँदा आम जनसमुदायलाई घर लगायत अन्य संरचना निर्माण गर्न र कित्ताकाट गर्ने कार्यमा समस्या परी जनसमुदायको दैनिक जनगुनासो आउने गरेकाले यथाश्रीघ उक्त जग्गाको रोक्का फुकुवा गर्न शहरी विकास मन्त्रालय तथा अन्य निकायहरुलाई अनुरोध गर्दछौ ।’

त्यस्तै, बैठकले शहरी विकास मन्त्रालयले रोक्का गरि राखेको जग्गा तत्काल फुकुवा नगरेमा स्थानीय सरकारको अधिकार बमोजिम जग्गा कित्ताकाटको सिफारिस गर्न स्थानीय सरकार अगाडि बढ्ने निर्णय गरेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

काठमाडौंका दुई र भक्तपुरका तीन नगरपालिकाका क्षेत्रमा पर्ने जग्गाहरु शहरी विकास मन्त्रालयले २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशित गरि तीन वर्षको लागि नयाँ शहर निर्माण एवं विकास गर्ने र सो जग्गा उपत्यका विकास प्राधिकरणको पूर्व स्वीकृति विना कुनै प्रकारको भौतिक परिवर्तन वा टुक्राउन नपाउने गरि रोक लगाइएको थियो । तर उक्त ५ देखि ७ वर्षभित्र पूरा गर्ने भनिएको योजना ६ वर्षसम्म पनि सुरु सकेको छैन ।

स्मार्ट सिटी अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका ४, ५, ६, ७, ८ र ९ वडा, शंखरापुर नगरपालिका ५, ६, ७ र ९ का क्षेत्र, भक्तपुर नगरपालिका २, ६ र १० वडा, मध्यपुर थिमी नगरपालिका २, ६, ७, ८ र ९ वडा, चाँगुनारायण नगरपालिका १, २, ३, ४, ५ को पूरै भाग र ६, ७, ८ को केही भाग गरी ५२.७ वर्ग किमि जग्गा रोक्का छ ।

यसमा नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङ, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटो, साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुबारी, घट्टेखोला हुँदै तेलकोट, भक्तपुर जाने पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान) खरिपाटी, देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण (आयोजनाबाहेकका क्षेत्र) समेटिएको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिकाको १, ४, ५, ६ र ७ नम्बर वडाका भागहरूको १८ हजार १ सय ४ रोपनी क्षेत्रफलमा नयाँ नगर बनाउने लक्ष्य छ । यो आयोजनाको पूर्वी सिमाना सिर्जनानगर चोकदेखि अरनिको राजमार्ग, घ्याम्पे डाँडा सडक, सूर्यविनायक जंगलको फेदी हुँदै गुन्डु बसपार्कसम्म, पश्चिममा बिरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक, गाम्चाचोक हर्षचोकदेखि हनुमन्ते पुल हुँदै मध्यपुर थिमि बिरुवा रोडसम्म, उत्तरमा हनुमन्ते पुल सिर्जना चोक र दक्षिणमा गुन्डु बसपार्कदेखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै बिरुवा बसपार्कसम्मको जग्गा समावेश छ ।

६ वर्षदेखि यी क्षेत्रका ५२.७ वर्ग किमि जग्गा रोकेर राख्दा जग्गाधनीहरू मर्कामा परेका छन्  । प्राधिकरणले उपत्यकाका चारै दिशामा ‘नयाँ नगर’ बनाउने घोषणा गरेर जग्गा रोक्का राखे पनि नगर विकासको सोचेअनुरुप नभएको नगरप्रमुख कार्कीको भनाइ छ ।

नयाँ नगर घोषणा गरिसकेपछि जग्गा कित्ताकाट भएको छैन, मालपोत कार्यालयले पनि नामसारी गर्दैन, अंशबन्डासमेत रोकिएको छ । आफ्नै जग्गामा घर निर्माण रोकिएको छ । यसबाट प्रभावित जग्गाधनीले व्यक्तिगत रूपमा अदालतमा मुद्दा दायर गरी आदेशका आधारमा काम गरिरहेका छन् तर, यसका लागि समेत समय र खर्च लाग्ने भएकाले उनीहरूले हैरानी खेप्नुपरेको छ ।

हेर्नुहोस् विज्ञप्ति-


प्रतिकृया दिनुहोस्