Hamro Sanchar

एकीकृत समाजवादीको मेची-महाकाली जागरण अभियान आजबाट सुरू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १४ गते


झापा, असोज १४- नेकपा (एकीकृत समाजवादी)ले मेची-महाकाली राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आइतबार (आज)बाट देशको पूर्वी नाका काँकडभिट्टाबाट अभियान थालिएको हो ।

देश रूपान्तरणको मूल एजेन्डासहित सुरू अभियानमा केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु प्रमेश हमाल, घनेन्द्र बस्नेत, जयन्ती राई, कृषिमन्त्री बेदुराम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, पूर्व मन्त्री रामकुमारी झाँक्री, दिपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

अभियानलाई अध्यक्ष नेपालले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टी युवा, किसान, महिला, दलित उत्पीडित र पिछडिएका समुदायहरुसँग हातेमालो गरेर अघि बढ्ने जनाए । उनले समाजवादको यात्रामा कम्युनिस्टहरु फुटेर हैन, जुटेर अघि बढ्नुपर्ने जनाउँदै थपे,‘समाजवादको बाटोमा कम्युनिस्टहरूबीच एकता आवश्यक छ त्यसैकारण चार कम्युनिस्टबीच मोर्चाबन्दी भएको हो ।’

वरिष्ठ नेता झलनाथ खनालले दलाल पूँजीवादी शासन व्यवस्थाले देशकब्जा गरेको भन्दै कम्युनिस्ट सरकारले समेत अहिलेसम्म जनताको गाँस, बास र कपासको व्यवस्था गर्न नसक्नु दुखद भएको जनाए ।

पूर्व प्रधानमन्त्री खनालले पूँजीवादी व्यवस्थाको विकृति र विसंगतिलाई निर्मूल पार्न समाजवादको विकल्प नरहेको जनाए । ‘जबसम्म देशमा समाजवाद आउँदैन तबसम्म जनताले सुख पाउँदैनन्’, खनालले थपे ।

अभियान बिर्तामोड, दमक, इटहरी, सप्तरी, धनुषा, रौतहट, बारा, चितवन, रुपन्देही, बुटवल, दाङ, बाँके, बर्दीया, टिकापुर, धनगढी, महेन्द्रनगर हुँदै २८ गते सुर्खेत पुगेर समापन हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्