
काठमाडौं, असोज ११- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नगरपालिकाको वडा नम्बर ९ स्थित खहरेबाट घर टहरा भत्काउन सुरु गरिएको छ ।
नगरपालिलाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काइएका हुन् । नगर क्षेत्रका विभिन्न सार्वजनिक जग्गा तथा मिचेर बनाइएका घर तथा अन्य संरचना नगरपालिकाले डोजर लगाएर भत्काएको हो ।
स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा लिएको नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा भत्काउन सुरु गरेको हो । नगरलाई ब्यवस्थित बनाउनको लागि गुरु योजना बनाइदै गरेकाले गुरु योजना अनुसारको काम गर्न पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घर टहराहरु भत्काउन थालेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले हाम्रोसंचारलाई बताए । ‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन’ कार्कीले भने नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश नगरपालिकाले भत्काउँदै जानेछ ।’
वडा नम्बर ९ का वडाअध्यक्ष अनिल थापाका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ३२ र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित खहरे खोला छेउ र वडाभित्रका सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन २ महिना पहिले नै लिखित पत्र दिइएको थियो । त्यसलगत्तै केहि व्यक्तिले हटाएपनि केहि स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको वडाअध्यक्ष थापाको भनाई छ ।
आइतबारबाट नक्साअनुसार खहरे छुट्याएर त्यस वरपरका घर टहरा नापेर प्रति जग्गासँग छोएको छ वा छैन छुट्याएर कतै अतिक्रमित देखिए त्यसैअनुसार अगाडी बढ्ने वडाअध्यक्ष थापाले जानकारी दिए ।
नगरपालिकाले नगरलाइ ब्यवस्थित बनाउने योजनाका साथ अतिक्रमण गरेर बनाइएका सवै स्थानमा डोजर लगाउने बताएको छ ।