
काठमाडौं, असोज १०- सरकारले असोज २१ गतेदेखि देशका विभिन्न ठाउँमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले दिएको जानकारी अनुसार दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर खुल्ने त्यस्ता पसलहरु मंसिर ३ गतेसम्म सञ्चालनमा रहने छन् । चाडवाडका समयमा उपभोक्तालाई सहज होस भनेर सहुलियत पसल सञ्चालन गर्न लागेको प्रवक्ता ठाकुरले बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्ने उनको भनाइ रहेको छ । हरेक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको सरकारले अत्यावश्यक खाद्य वस्तुहरूको बजार मूल्य नियन्त्रण र गुणस्तर कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउन पर्वलक्षित सिल खोल्ने गरेको जनाएको छ ।
यस्ता पसलहरु काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्नेछ भने त्यहाँ सञ्चालन हुने सुपथ मूल्य पसलमा चामल, दाल, गहुँ, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकिलो ७ रुपैयाँसम्मको छुटमा पाइनेछ ।
त्यसैगरी, यसै ठाउँमा सञ्चालन हुने पसलमा नै कर्णालीको सिमी गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो प्रतिकिलो १० रुपैयाँ छुटमा पाइनेछ । सरकार माताहतमै रहेको दुग्ध विकास संस्थानका एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटार सञ्चालन हुनेछन् भने त्यहाँबाट दुग्धजन्य पदार्थ छुटमा बिक्री हुनेछ ।
त्यस्तै संस्थानले विराटनगर, जनकपुर, ढल्केवर, हेटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी, बुटवल गरी ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने र एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौंका ८ वटा केन्द्रमार्फत सुपथ मूल्यमा नुन, तेल, चिनी, चिउरा वितरण गर्नेछ । साथै कर्पोरेसनले घुम्ती पसलमार्फत पनि घरघरमा उपभोग्य वस्तु पुर्याउने जनाएको छ ।
उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ ।