काठमाडौं, असोज १०- चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विशाल अन्तरको जीत हात पारेको छ ।
मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो । ३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो ।
उसले २३ रन अतिरिक्त पाएको थियो । मंगोलियाका जयन्नसुरेन देवासुरेनको १० रन नै सर्वाधिक रह्यो । उसका अन्य कुनै ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । पाँच खेलाडी शून्यमा पेभिलियन फर्किएका छन् । नेपालको करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान दुई विकेट लिएन् । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा समान एक एक विकेट रह्यो ।
यस अघि टस हारेको नेपालले युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको थियो । यो टी–२० आई इतिहासकै उच्च योगफल हो। यसअघि अफगानिस्तानले आयरल्यान्ड र चेक रिपब्लिकनले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए । नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा आउट भए ।
कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ८ छक्कासहित ५२ रनको अविजित योगदान दिए। दीपेन्द्र सबै भन्दा छिटो अर्थशतक बनाउने खेलाडी बने । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।
कुशलले ३४ बलमै शतक पूरा गरेका थिए । योसँगै कुशल टी–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टी–२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए ।
कप्तान राहित पौडेल ६१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो । १९ औँ ओभरको पहिलो बलमा रोहित आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले लगातार पाँच बलमा पाँच छक्का प्रहार गरे । २० औँ ओभरको दोस्रो बलमा पनि छक्का प्रहार गरेका उनले लगातार ६ छक्का हानेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाको नेपालविरुद्धको खेलमा खराब प्रदर्शन रह्यो । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ ।