Hamro Sanchar

यू–१९ साफ च्याम्पियनसिपमा बंगलादेशमाथि भारतको सहज जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ४ गते


Advertisement

काठमाडौं, असोज ४- काठमाडौँमा जारी यू–१९ साफ च्याम्पियनसिप फुटबलमा भारतले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा बिहीबार भएको दिनको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक–एक गोल गरे ।

बंगलादेशविरुद्ध सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको भारतले पहिलो मिनेटमै अग्रता लिएको थियो । गुग्मसार गोयारीले टोलीलाई सुरुवातमा नै अग्रता दिलाए । सुरुवातमा गोल खाएपछि खेलमा फर्कन प्रयास गरे पनि बंगाली टोली सफल भएन ।

पहिलो हाफमा नै भारतविरुद्ध गोलका केही राम्रा अवसर चुकाउँदा बंगलादेश गोलविहीन बन्यो । मोइनुल इस्लामको प्रहारलाई गोलरक्षक लियोनेल रिम्मेटले बचाउँदा १० मिनेटभित्रै बंगलादेश खेलमा फर्कने अवसरबाट वञ्चित भयो । ४० औँ मिनेटमा राजु अहमदको प्रहार क्रसबारमा लाग्दा बंगलादेश पहिलो हाफको सम्भावित बराबरीबाट चुक्यो ।

तर पहिलो हाफमा दुई गोलको अग्रता बनाउन भारत सफल भयो । नाओबा पंगमबमले बंगलादेशी डिफेन्डरले क्लियर गर्न ढिला गरेको बललाई नियन्त्रणमा लिँदै आकर्षक गोल गर्दा भारत पहिलो हाफमा नै बलियो अवस्थामा पुग्यो ।

दोस्रो हाफमा पनि बंगलादेशले केही अवसरहरु बनाए पनि गोल गर्न भने असफल रह्यो । भारतले कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामको गोलमा ९० औँ मिनेटमा ३–० को अग्रता बनायो । जितसँगै भारतले समूह ‘बी’मा तीन अंक जोड्न सफल भएको छ । समूह ‘बी’मा भारत, बंगलादेश र भुटान रहेका छन् ।

 


प्रतिकृया दिनुहोस्