Skip

Hamro Sanchar

एन्फाका अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २५ गते


काठमाडौं, भदौ २५ -अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । एन्फा इतिहासमा पहिलोपटक अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । उनीहरूले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव हस्तान्तरण गरेका छन् ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको बताए । अविश्वासको प्रस्ताव सहित बुझाएको निवेदनमा अन्य १९ बुदा समावेश गरिएको छ । एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार सहितका नेताहरू एन्फा कम्प्लेक्स पुगेर अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता गरेका हुन् ।

एन्फा विधानमा ४० प्रतिशत सदस्यले विशेष साधारण सभा बोलाउन लिखित रुपमा माग गरेमा कार्यसमितिले ३० दिनभित्र विशेष साधारणसभा बैठक आहवान गर्नुपर्ने उल्लेख छ । विधानले साधारण सभालाई अध्यक्ष, उपाध्यक्ष, महसाचिव, सदस्य सहितलाई बर्खास्त गर्ने अधिकार दिएको छ ।

एन्फा नेतृत्वमा आएको एक वर्ष पुरा गरेका नेम्वाङ प्रारम्भिक रुपमा एन्फामा प्रस्ट रुपमा अल्पमतमा परेका छन् । उनीहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए । उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार बहिष्कार गर्ने र अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए ।

क्लबहरुहको चेतावनीलाई बेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविस्वासको प्रस्ताव अगाडि बढाउनु परेको पूर्वअध्यक्ष शेर्पाले बताए । ‘एन्फामा विधि भन्दा पनि व्यक्तिवाद हावी हुन खोज्यो। उहाँहरु विधिविधानको धज्जी उडाउँदै, ठूलो अर्थिक चलखेल गर्दै अगाडि बढ्न खोज्नु भयो । त्यसैले हामीले फुटबललाई बचाउन र संस्थालाई वैधानिक बाटामो फर्काउन यो कदम चालेका हौं,’ शेर्पाले भने ।

साधारणसभा स्थगित

अध्यक्ष र महासचिव विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबारको विशेष साधारणसभा स्थगित भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा स्थगित भएको जनाएका छन् ।

‘अखिल नेपाल फुटबल संघको पूर्व कार्यक्रम अनुसार आज मिति २०८० भाद्र २५ गते सोमवारका दिन ११स्०० बजे एन्फा विशेष साधारण सभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेकोमा एन्फा सदस्य संस्थाहरुको विशेष सल्लाह सुझावबमोजिम एन्फा अध्यक्षबाट उक्त विशेष साधारणसभा स्थगित गरीएको जानकारी गराउँदछु ।’ शाहले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

 

 


प्रतिकृया दिनुहोस्