
काठमाडौं, भदौ १२- प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणको समयमा दुई देशबीच नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको समयमा दुई देशबीच नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका हुन् । उनले दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालन प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि बताए ।
दुई देशका बीचमा यसअघि सम्पन्न सम्झौता र समझदारीहरूलाई कार्यान्वयनमा जोड दिने पनि उनको दाबी छ । त्यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्वास्थ्यको क्षेत्रमा रूपान्तरणकारी परियोजनामा चीनको सहयोग बिस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गरे ।
उनले भने,‘मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक, आर्थिक विकासको लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइनेछ ।
नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषय पनि भ्रमणका क्रममा कार्यसूचीमा छन् ।’
प्रधानमन्त्री दाहालले अर्थतन्त्र लयमा फर्किंदै गरेको उल्लेख गरे । उनले वैदेशिक लगानी प्रवर्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रिया सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अघि बढाइएको स्पष्ट पारे ।


















