Skip

Hamro Sanchar

सत्ता गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्न खोज्यो: राजेन्द्र लिङ्देन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १ गते


काठमाडौं, भदौ १-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारूढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।

शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनमा अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको दाबी गरेका हुन् ।

उनले अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर डङ्का पिटेको बताए । सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको चुनाव नआउने उनले दाबी गरे ।उनले भने ‘आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ । देशको यही अवस्था रहिरहने हो भने ०८४ नआउन सक्छ । आज सरकाकर मस्त निद्रामा छ । केही खरदार, सुब्बालाई जेल हालेर ठूलै भ्रष्टाचारको विरुद्ध काम गरेँ भनेर सरकार डङ्का पिटिरहेको छ ।

अदालतले अस्ति भर्खर ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्नेलाई पक्राउ गर भनेको छ । खोइ सरकार ?यदि यो सरकार भ्रष्टाचारविरुद्ध इमानदार थियो भने त्यहाँ किन पुगेन ? सत्तारूढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ । जे भयो यत्तिमै राख्ने निर्णय भएको छ ।’

सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कातिर भ्रष्टाचारीको संरक्षण गरेर सत्ता टिकाउने काममा लागेको लिङ्देनको आरोप छ ।


प्रतिकृया दिनुहोस्