
काठमाडौं, साउन ३२- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् ।
उनले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताए । यद्यपि सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले बताए ।
उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए । कार्यविधि पास हुने वित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाई छ ।
उनले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताए । मन्त्री भुसालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।
मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनविरुद्ध उपचार, लक्षणलगायतका विषयमा सचेतना दिइरहका कारण मृत्युदर घटेको बताए ।


















