Skip

Hamro Sanchar

सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गएको छ: प्रधानमन्त्री प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ३२ गते


रामेछापसाउन ३२-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गएको बताएका छन् ।

बिहीबार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारमा गएपछि जनता र पार्टीबीच सम्बन्ध टाढिएको बताएका हुन् ।

प्धानमन्त्री प्रचण्डले भने, ‘हिजो हामी सामन्तवाद निरंकुशविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौं । त्यसबेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको जस्तै थियो । हामीले त्यो समयमा गरेका त्यस्तो सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं ।’

‘शान्ति सहकार्य र एकता’को सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको समेत उनले बताए । मुलुकमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी देशमा आमूल परिवर्तन ल्याऔं भनेर सैद्धान्तिक रूपमा भन्न त भन्छौं तर व्यवहारमा जनताको दैनिकीमा परिवर्तन ल्याउन सकिरहेका छैनौं । कहीँ न कहीँ अल्मलिएका छौं ।’

उनले हिजोका दिनमा रक्तपातपूर्ण क्रान्तिमा रहेको र अहिले समाजवादका निम्ति रूपान्तरणको शान्तिपूर्ण अभियानमा जुटेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ ।’

नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले आगामी तीन महिनाभित्र पार्टीका लागि एउटा नयाँ एउटा वातावरण बन्ने दावी गर्दै भने, ‘त्यसो भयो भने २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’

प्रधानमन्त्री प्रचण्डले मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको बताउँदै गठबन्धन सरकारमा कुनै समस्या नभएको दावी गरे । उनले भने, ‘प्रतिक्रियावादीहरूले चलाएको बाहिरी हल्लाको पछि नलाग्न म यहाँहरूलाई आग्रह गर्दछु ।’


प्रतिकृया दिनुहोस्