काठमाडौं, साउन २४-गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको खर्च राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले १० महिनापछि सार्वजनिक गरेको छ ।
राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च सार्वजनिक गरेको हो । राखेपले १० महिनापछि सार्वजनिक गरेको खर्च अनुसार नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको छ । जसमा २१ वटा उपशीर्षकमा खर्च विवरण प्रस्तुत गरिएको छ । खेलाडीले पाउनुपर्ने रकम भुक्तानी वैशाखमा भइसकेको राखेपले जानकारी दिइएको छ ।
यसपटक रकम सिधै खेलाडीको खातामा जम्मा गरिएको सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए । ८०० जना भन्दा बढीले स्वर्ण पदक पाएको उनले बताए । पदकको हिसाबले ३९७ स्वर्ण पदक भएपनि टिममा भएको खेलमा कुल ८४० खेलाडीको स्वर्ण पदकको रकम पठाइएको उनले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुदको पुरस्कार खेलाडीहरुले प्रतियोगिता आयोजना गरिएको ५ महिनापछि पुरस्कार रकम प्राप्त गरेका हुन् । १९ औं एसियन गेम्सपछि दशौं राष्ट्रिय खेलकुदको मोडालिटी सार्वजनिक गर्ने नवौं राष्ट्रियको जस्तो हतारमा मोडालिटी सार्वजनिक नगर्ने सदस्य सचिव घिसिङले जानकारी दिए ।