Skip

Hamro Sanchar

हर्क साम्पाङलाई भेटेपछि नागरिक उन्मुक्ति पार्टी छाडिन् एलिजाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २१ गते


काठमाडौं, असार २१- नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन् । राजनीतिबाट बिदा लिएको घोषणा गरेकी उनले धरानका मेयर हर्क साम्पाङलाई १० वटा साबेल दिएर आगामी दिन समाजसेवामा सक्रिय हुने उल्लेख गरेकी छन् ।

हर्कको तारिफ गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’

उनले थपेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

२०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्