Hamro Sanchar

नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ, श्रीमान फरार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २१ गते


जनकपुरधाम , असार २१- नक्कली नागरिकता लिएको आरोपमा सप्तरीकी उपमेयर प्रकाउ परेकी छिन् । प्रहरीले कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई पक्राउ गरेको हो ।

हिजो साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न.– ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए । तर प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । उपमेयर यादवका पति महेन्द्र भने फरार छन् ।


प्रतिकृया दिनुहोस्