
काठमाडौं, असार २०- प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिको विरोधका कारण रोकिएको प्रतिनिधसभाको बैठक बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।
त्यसपछि पनि बैठक सञ्चालन हुने अवस्था नभएपछि सूचना टाँसेर बैठक बिहीबारका लागि तोकिएको हो । बुधबार राष्ट्रिय सभाको बैठक पनि सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
संसद्का दुवै सदन चल्न नसक्दा मिटरब्याजीहरूलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा कानुनी परिभाषा गरी त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न मौजुदा कानुनमा संशोधन गर्दै अध्यादेश जारी गरेको थियो ।

















