Hamro Sanchar

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १८ गते


काठमाडौँ, असार १८- ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो । यससँगै यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन् ।

तत्कालीन अधिकृत पोखरेलले समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान कागजात तयार पारेका थिए ।

त्यस्तै गुठीमार्फत् नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको अनुसन्धानमा खुलेको छ ।

समरजंग कमनपीको जग्गा टिकिन्छा गुठीमा लैजान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्‍ बैठकले २०६९ का विभिन्न मितिमा निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्