Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डीङ गर्ने

प्रदिप नेपाली प्रकाशित : २०८० असार, १३ गते


काठमाडौं, असार १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय बस्तुबाट उत्पादित हुने घरेलु (लोकल) मदिरालाई ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । आइतबार आयोजित आठौं अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले घरेलु मदिरालाई प्रोत्साहन, गुणस्तरीय मापन गरि ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘कानुन बमोजिम स्थानीय मदिरालाई प्रोत्साहन गर्ने, सो को गुणस्तरीयता निर्धारण गर्ने र ब्राण्डीङ गर्ने नीति लिईने छ । स्थानीय मदिरा प्रवर्द्धन गर्न संघीय सरकारलाई आवश्यक कानुन निर्माणको लागि अनुरोध गरिने छ ।’ नगरप्रमुख कार्कीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रशोधन गरेर घरेलु मदिरा बनाउने व्यवसायलाई व्यवस्थित र आम्दानी स्रोतको रुपमा विकास गर्ने उदेश्य रहेको उनले बताए ।

नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागी कुल २ अर्ब ३८ करोड ६५ लाख ८० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा सामाजिक क्षेत्र, व्यवस्थित शहरी विकाससहितको भौतिक पूर्वाधार, चार बर्षभित्र घर-घरमा स्वच्छ खानेपानी, नगरपालिकामा रहेको नगर अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु र शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार र सुधार, ज्येष्ठ नागरिकलाइ घरदैलोमा नि:शुल्क स्वास्थ्य उपचार सेवा, विद्यालय स्वास्थ्य कार्यक्रमलाइ प्राथमिकता र नगरलाइ खेलकुद नगरको रुपमा विकास गर्ने योजना रहेको जानकारी गराए ।

“सबल, सक्षम, सुशासनयुक्त, विकासमुखी स्थानीय सरकार” नारा दिएको नगरपालिकाले दिगो र गुणस्तरीय पूर्वाधार विकास, सर्वसुलभ, रोजगारमुलक, संस्कारयुक्त र गुणस्तरीय शिक्षा, सर्वसुलभ र गुणस्तरीय विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा, रोजगारमुलक सीप विकास एवम् उद्यमशिलता प्रवर्द्धन, कृषि क्षेत्रलाई आधुनिक बनाई उत्पादन अभिवृद्धि गर्दै आर्थिक विकास गरि गरिबी निवारण गर्ने, प्रशासनिक सुशासन कायम गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाह र चुस्त एवम् दुरुस्त, दिगो आधुनिक र ब्यबस्थित बसोबासका निमित्त पूर्वी उपत्यका सहरी विकास आयोजना कार्यान्वयन, खेलकुद पूर्वाधार विकास एवम् विद्यालय स्तरदेखि खेलाडी उत्पादन, विकास आयोजना छनोट तथा संचालन गर्दा जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत साधन र सिपको अधिकतम प्रयोग गर्ने, महिला, दलित, अपांग, आदिबासी, जनजाती, अल्पसंख्यक र बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने, समावेसी र दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पुर्याउने जस्ता क्षेत्रहरु प्राथमिकता राखेको छ ।

यस्तै पूर्वी उपत्यका नयाँ शहरी विकास आयोजना र नगरपालिकालाई खेलकुद नगरीको रुपमा विकास गर्ने आयोजनालाई नगर गौरवको आयोजनाको रुपमा अगाडी बढाउने भएको छ ।

यस्तै खेलकुद हव, वैज्ञानिक र ब्यबस्थित फोहोरमैला विसर्जन केन्द्र आदि निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समावेश छ ।


प्रतिकृया दिनुहोस्