Hamro Sanchar

शिवचोकमा भीषण आगलागी, ४० लाखभन्दा बढीको क्षति (तस्विरसहित)

प्रदिप नेपाली प्रकाशित : २०८० असार, ११ गते


काठमाडौं, असार ११- गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ स्थित शिवचोकमा सोमबार बिहान भीषण आगलागी भएको छ । किशुन महतोले संचालन गरेको विश्व मोटरसाइकल वर्कशपबाट सुरु भएको आगलागीबाट ४० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट महतोको एउटा मोटरसाइकलसहित वर्कशपमा प्रयोग हुने सामानहरु र रामेछाप घर भएका उद्धप दुलालले संचालन गरेको (परपल किचन) रेष्टुरेन्ट पूर्ण रुपमा जलेर नष्ट भएको छ । दुलालले आकर्षक डेकोरेसनसहित रेष्टुरेन्ट संचालन गरेका थिए ।

आगलागीबाट परपल किचन रेष्टुरेन्टको २० लाख र विश्व मोटरसाइकल वर्कशपको २० लाख रुपियाँ गरि अनुमानित ४० लाखको क्षति भएको प्रहरी सहायक निरीक्षक कमल बिष्टले जानकारी दिए । यस्तै आगलागीबाट सिन्धुपाल्चोक घर भएका लमु शेर्पाले संचालन गरेको बि.के. कस्मेटिक पसलमा सामान्य क्षति भएको छ ।

२ वटा दमकल र २ वटा ट्यांकरसहित प्रहरी, अग्नि नियन्त्रक र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिद्युत शट भएर आगलागी भएको अनुमान गरिएको छ । बिहानको समय भएर मानवीय क्षति भने हुन नसकेको प्रहरीको भनाइ छ ।

तस्बिरहरु-


प्रतिकृया दिनुहोस्