
काठमाडौँ, असार ३- निजी शैक्षिक संस्थाको साझा सञ्जालले काठमाडौं महानगरपालिकाले गैरन्यायिक हस्तक्षेप गरी शैक्षिक मेला रोकेको भन्दै काठमाडौं महानगरपालिका र नगर प्रमुख बालेन्द्र शाहको गुण्डागर्दी साहन नसकिने बताएको छ । आइतबार सञ्जालमा आबद्ध विभिन्न ९ संघसंस्थाले सामूहिक विज्ञप्ति जारी गर्दै महानगरको ज्यादतीपूर्ण, गुण्डागर्दी शैलीको हस्तक्षेपको निन्दा र भर्त्सना गरेका हुन् ।
महानगर प्रहरीले ‘माथिको आदेश’ भन्दै हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध पुर्याएका कारण विद्यार्थी, अभिभावक सूसुचित हुने अधिकारबाट वञ्चित भएको जनाइएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित ‘आठौं कान्तिपुर हिसान एडुफेयर’ सञ्चालनमा काठमाडौं महानगरपालिकाले जेठ ३२ गते रोक लगाएको थियो । मेला उद्घाटन हुनेबित्तिकै महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोलीले स्टलहरू बन्द गराएर भृकुटीमण्डपस्थित मेलास्थलमा ताला लगाएको थियो । मेलास्थलमा बिजुलीसमेत काटिएको संयोजक टंकराज आचार्यले बताए ।
शिक्षा समर्पित प्राज्ञिक वर्ग, विद्यार्थी र अभिभावकको कार्यक्रममा बर्दीधारी प्रहरी परिचालन गरेर शैक्षिक क्षेत्रलाई त्रासपूर्ण बनाउने काम गरिएको विज्ञप्तिमा उल्लेख छ । मेला आयोजक हिसानसहित प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, पोखरा विश्वविद्यालयअर्न्तगतको ओपेन, पूर्वाञ्चल विश्वविद्यालयको पीयूक्यान, ईकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया), निजी प्राविधिक शिक्षालय महासंघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
‘शिक्षा मन्त्रालयबाट अनुमति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरलाई जानकारी दिएर सुरु भएको मेला कुनै लिखित जानकारीबिना नै कर्मचारी सुरक्षाकर्मी आएर बन्द गराइयो,’ विज्ञप्तिमा भनिएको छ, ‘विधिवत् ढंगले महिनौँदेखि सुसूचित कार्यक्रमलाई बिथोल्नु, सूचना नदिनु, संवाद नगर्नु, निवदेनहरूको लिखित जानकारी नगराउनु आदि हिसाबले महानगरका तर्फबाट भएको गैरन्यायिक हस्तक्षेपप्रति क्षमायाचना र आर्थिक क्षतिपूर्तिसहित निर्वाध शैक्षिक मेला सञ्चालन गर्न दिन माग गर्दछौं ।’ अभिभावकीय संस्थाले राज्यका निकायबाट स्वीकृत स्वदेशी शिक्षाबारे परामर्श र सूचना दिने संस्थालाई संरक्षण र सम्बर्धन गर्नुपर्नेमा त्रसित र आतंकित पार्न खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
४ दिनदेखि बिनाजानकारी मेला रोकिएपछि न्यायका लागि अदालत पुगेको हिसान अध्यक्ष रमेश सिलवालले जनाए । १५ करोड रुपैयाँ क्षतिपूर्ति र तत्काल मेला सञ्चालनको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । मेलास्थलमा नै पत्रकार सम्मेलन गरिएको थियो । उक्त मेला नरोकिएको भए आइतबार (आज) सकिने कार्यक्रम थियो ।
‘यो कक्षा १० सम्मको मात्र मेला थिएन । विश्वविद्यालय र सीटीईभीटीका कलेज पनि सहभागी थिए,’ उनले भने, ‘अघिल्लो वर्ष पनि मेयर बालेन्द्र शाह नै हुँदा यस्तै मेला गरिएको थियो, यसपालि किन रोकतोक भयो ? अहिलेसम्म केहि जानकारी पाएको छैन ।’ महानगरका कर्मचारी मेयरको आदेश हो भन्दै पन्छिने गरेको हिसान पदाधिकारीले जनाए । ‘पञ्चायतकालमा पनि कार्यक्रम गर्न रोक लगाउँदा पुर्जी दिइन्थ्यो, के कारणले बन्द गरेको हो, महानगरले चिठ्ठीपत्र, पुर्जी केहि दिएको छैन ।’
छलफल र संवादका लागि मेयर शाह सम्पर्कमा आउन नचाहेको सिलवालले बताए । ‘हामीले के अपराध गर्यौं ? अपराधी समात्दा त पक्राउ पुर्जी दिनुपर्छ, प्राज्ञिक निकायमाथि हस्तक्षेप भयो, गुन्डाराज चल्यो,’ उनले भने । मेयर शाह विदेशी कलेजका कसल्टेन्सीको बहकाउमा फसेको हुनसक्ने उनले आंशका गरे । ‘केहि जवाफ नदिएपछि उहाँको नियतमाथि पनि प्रश्न उठेको छ, विदेशी कलेजले १२ महिना विद्यार्थी भर्ना गर्न पाउने, बाह्रै मास विद्यार्थी ओसार्न पाउने, स्वदेशी शिक्षणसंस्थाले मेला गर्न किन नपाउने ?,’ उनले प्रश्न गरे । गल्ती भएको भए कानुनी रुपमा सजाय भोग्न तयार रहेको तर बल प्रयोग मान्य नहुने उनले बताए । ‘रिजल्ट अगाडि मेला गर्न नपाइने भए, नेताहरूले पनि चुनावपछि चुनाव प्रचारप्रसारमा गए हुन्छ,’ उनले थपे ।
महानगरको शिक्षा शाखाले नतिजाअघि नै मेला आयोजना गरेकाले रोक लगाएको जनाएको छ । विद्यार्थी भर्ना, शुल्क र छात्रवृत्तिको प्रलोभनमा विद्यार्थी र अभिभावकलाई पार्न नपाइने शिक्षा प्रमुख सीताराम कोइरालाको भनाइ छ । एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर मेला आयोजना गरिएको थियो । उक्त मेलामा काठमाडौं विश्वविद्यालयसहित ७५ शिक्षणसंस्थाको सहभागिता थियो । पत्रकार सम्मेलनमा प्याब्सन अध्यक्ष डीके ढुंगानाले मेला रोक्नुका कारण महानगरले दिनुपर्ने माग गरे ।
‘स्वदेशी शिक्षणसंस्थालाई प्रोत्साहन गर्न मेला गर्दा के बिग्रियो ? लाखौं विद्यार्थी विदेश जाँदा कति पैसा बाहिरिएको छ ?’ प्रश्न गर्दै उनले भने, ‘निजी शिक्षणसंस्थालाई मासेर शैक्षिक सुधार गर्छु भन्ने सोच कसैले पनि राख्नु हुँदैन ।’