काठमाडौं, जेठ ३२- श्रीमानको कुटपिटबाट एक दलित वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेमा नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विक रहेकी छन् ।
उनका ४८ वर्षीय श्रीमान शम्भु विकले जेठ २९ गते रक्सी सेवन गरी कुटपिट गर्दा ज्ञानु गम्भीर घाइते भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपाने अनुसार प्रहरी घटनास्थलमा पुग्दा शम्भु नसामै थिए । श्रीमती ज्ञानुलाई शम्भुले हात-खुट्टा बाँधेर कुटेका थिए । त्यसपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी अस्पताल पठाएको थियो ।
उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उनलाई बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको हो ।
प्रहरीले हत्या आरोपमा शम्भुलाई पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।