
दोलखा, जेठ २६- आगामी आर्थिक वर्षबाट आफ्नै भवनबाट सेवा दिनेगरी दोलखाको मेलुङ गाउँपालिकाले प्रिफ्याव भवन निर्माण गर्न लागेको छ । ६ वर्षदेखि भाडाको घरबाट जनतालाई सेवा दिँदै आएको पालिकाले जग्गा व्यवस्थापनपछि प्रिफ्याव भवन बनाउन लागेको हो ।
यो वर्ष पालिकाले पक्की प्रशासनिक भवन निर्माणको लागि भन्दै एक करोड बजेट विनियोजन गरेको थियो । तर, पक्की भवन वहुवर्षीय योजना अन्तर्गत निर्माण हुने भएपछि तत्कालको लागि प्रिफ्याव भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए ।
पक्की भवन निर्माणको लागि अझै २ वर्ष भन्दा बढी समय लाग्ने बताइएको छ । सो समयसम्म पालिकाले सेवा सञ्चालनको लागि अझै भाडामा मात्रै कम्तीमा थप ९ लाख ६० हजार रुपैंया खर्च गर्नुपर्नेछ । तर, पालिकाको छरपस्ष्ट रुपमा प्रवाह भइरहेको सेवा व्यवस्थित बनाउन र थप दुई वर्ष भाडामा लाग्ने खर्चको समेत बचाउन प्रिफ्याव भवनको योजना ल्याइएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष थोकरले यो वर्ष विनियोजन भएको ८० लाख बजेटबाट २० लाखमा जग्गा सम्याएर भवन निर्माणको लागि चौर बनाएपछि त्यसैमा ६० लाख बजेटबाट प्रिफ्याव भवन निर्माण गर्ने बताए । उनका अनुसार हाल जग्गा सम्याएर भवन निर्माणको लागि आवश्यक तयारी भइरहेको छ । हालसम्म पालिकाले मासिक ४० हजार भाडा तिरेर जोरधारा र पोखरीबाट भाडाको घरबाट जनतालाई सेवा दिँदै आएको छ ।
पालिकाले पोखरी क्षेत्रमा स्थायी केन्द्र निर्धारण गरी जग्गा व्यवस्थापन गरेको छ । भवन निर्माणका लागि पोखरीका स्थानीय भिम बहादुर थोकरले जग्गा दान गरेका छन् ।