नवलपरासी, जेठ २३- नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रतापपुर वडा नं.८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको सिलवालले बताए । प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो ।
खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।