Skip

Hamro Sanchar

भ्रष्टाचार निवारण गर्ने हो भने मबाट छानबिन सुरू गर्नुस्- झलनाथ खनाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १८ गते


काठमाडौं, जेठ १८- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भ्रष्टाचार निवारण गर्ने हो भने आफैंलाई छानबिन गर्न आग्रह गरेका छन् । पार्टीसम्बद्ध युवा संघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सर्प कान्ड भनेर आफूलाई बदनाम गर्न खोजिएको पनि बताए ।

‘सर्पदंशबाट बचाउन भेनम उत्पादन गर्ने भनेर परियोजना अघि बढाइएको छ। यसमा मेरो कुनै संलग्नता भेटियो, एक पैसा, एक लालमात्रै दुरूपयोग भएको छ भने म अहिले नै हतकडी लगाउन तयार छु,’ उनले भने, ‘म चुनौतीका साथ भन्छु, यी साइबर स्यालहरूलाई, यो देशका अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अरू निकायहरूलाई पनि भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्। देशमा भ्रष्टाचार निवारण गर्ने हो भने झलनाथ खनालबाट छानबिन सुरू गर्नुस्।’

उनले २०७० सालमा चुनाव प्रचारका क्रममा सर्लाहीमा सर्पले डसेर मृत्यु भएको बालकको घरमा पुगेको र त्यही पीडाबाट विक्षिप्त भएर पार्टीकै नेताहरूले भेनम उत्पादन गर्ने परियोजना अघि बढाएको प्रष्टीकरण दिए । नाम राख्न स्वीकृति दिएको तर आफ्नो सलग्नता नरहेको उनले बताए । ६० वर्षे राजनीतिक जीवनमा आफूले आपराधिक सोच नपालेको उनको भनाइ थियो ।

नेता खनालले निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको अवमूल्यन गरेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्