काठमाडौं, जेठ १६- धादिङमा भीरबाट लडेर ८ महिनाकी गर्भवती आमासहित २ वर्षीय छोराको मृत्यु भएको छ ।
बेनिघाट रोराङ गाउँपालिका-२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको हो ।
सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन् ।
त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तु जैसवालले जानकारी दिए ।
उनका अनुसार अप्सरा भने गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको लागि मलेखुको टिचिङ अस्पताल ल्याइएको थियो ।
उनको पनि राति ९ बजेतिर मृत्यु भएको अस्पताल श्रोतले बताएको छ ।