
काठमाडौं, जेठ १२- राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो ।
टीकापुर घटनामा जन्मकैदको सजाय भएका चौधरीबारे गृहमा पठाएको निवेदनमा दुई मुख्य समेटिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको बताए ।
यसैगरी उनका अनुसार पीडितको तर्फबाट परेको निवेदन पनि आवश्यक कार्यार्थका लागि गृहमा फिर्ता गरिएको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो ।
घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो ।
रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । उनी रेशम चौधरीकी श्रीमती हुन् ।


















