Hamro Sanchar

बिहे गर्न मन्दिर पुगेका जोडीमाथि जातीय विभेद, पुजारी मन्दिरको ढोका बन्द गरेर फरार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ९ गते


बाजुरा, जेठ ९- बाजुराका प्रकाश विक र कंचनपुरकी पार्वती सुनारको भेट सामाजिक सञ्जाल फेसबुकले गरायो । फेसबुकबाटै उनीहरु बीच चिनजान भयो । दुवै जना साथी बने । त्यो क्रम रोकिएनन् बिस्तारै कुराकानी गर्न थाले । कुराकानीले दुबैलाई नजिक बनाउँदै लग्यो ।

जीवन अन्तरङ्गका गफगाफ हुन थाले । फेसबुकको कुराकानीको क्रम हेलो हाइमा मात्र सीमित भएन, दुवै जना एक अर्कालाई प्रेम गर्न थाले ।

सामाजिक सञ्जालले नै जुराएको भेटलाई प्रेम सम्बन्धमा मात्रै सीमित उनीहरूले राखेनन् अन्ततः प्रकाश र पार्वती दुवै जनाले अलग नबस्ने र बिहे गर्ने निधो गरे । सामाजिक सञ्जालको प्रेम बिस्तारै विवाहमा परिणत भयो । प्रकाश पार्वती लिन कंचनपुर पुगे र पार्वती प्रकाशसँगै बस्ने निर्णय सहित बाजुरा आइन् ।

गएको चैत्रदेखि नै प्रकाश र पार्वतीसँगै बस्दै आएका थिए, तर औपचारिक बिहे भने गरेका थिएनन् । दुवै तर्फका आफन्तसँगको परामर्शपछि ज्येष्ठमा बिहे गर्ने साइत जुराए । त्यही साइत अनुसार नै प्रकाश र पार्वतीको बिहे मालिका मन्दिर मार्तडीमा ज्येष्ठ ८ गते जुरेको थियो ।

साइत अनुसार नै माइती पोइली पक्षबाट आफन्त इष्टमित्र छरछिमेकको टोली बाजुरा सदरमुकाम मार्तडीमा रहेको मालिका मन्दिर पुग्यो । मन्दिरमा बिहे गर्ने बारे अघिल्लो दिन नै नियमित पूजापाठ गर्ने ब्राह्मणलाई जानकारी गरिसकेकोले आफन्त बडो उत्साहका साथ मन्दिर पुगे । विवाहको पोशाकमा सजिएका बेहुला बेहुली र आफन्तहरू मन्दिर परिसर पुग्दा मूल मन्दिरको ढोका बन्द देखेँ र झस्किए ।

मूल मन्दिरको ढोका बन्द थियो । तर मन्दिर भित्र दीप जलिरहेको देखिन्थ्यो । मन्दिर परिसरमा नियमित पूजा पाठ गर्ने कुनै ब्राह्मणहरू थिएनन् । बिहेको जानकारी गराएका नियमित पूजापाठमा सरिक हुने पुजारी देवराज पाध्यायलाई फोन गरे, तर सम्पर्क हुन सकेन भन्यो ।

पुजारी देवराज पाध्यायलाई आइतबार बिहानै सम्पर्क गरी सोमबार बिहान ७ः३० बजेको साइतमा मन्दिरमा विवाह गराइदिन आग्रह गरिएको थियो । प्रकाशका आफन्त सुरेश विकका अनुसार पुजारी पाध्याय विवाह गराउन मञ्जुर भए । तर, सबै तयारी सकेर बिहान मन्दिर पुग्दा पुजारी पाध्याय मन्दिरको मुख्य ढोका बन्द गरेर फरार भएका सुरेशका अर्का आफन्त  धीरेन विकले बताए ।

खुसीका साथ मन्दिर पुगेकाहरुको मुहार मलिन हुन थाल्यो । एक अर्का बीच कानेखुसी भइरह्यो, विक थर भएकै कारण पुजारी मन्दिर बन्द गरेर गएको हुन सक्ने कुराकानी पनि चल्यो । अघिल्लो दिन हुन्छ, आउनु भनेका ब्राह्मण नै सम्पर्क बाहिर भएपछि जातकै कारण विभेदपूर्ण व्यवहार गरिएको निष्कर्षमा पुगे ।

नत मन्दिरको ढोका खुला हुने, नत ब्राह्मण नै आएर पूजापाठ व्रतबन्ध गराउने त्यो सबै कुरा अनिश्चित बन्यो । अन्ततः आफन्तहरू ब्राह्मण नआएपछि मन्दिरको झ्यालबाट प्रसाद चढाएर निराशा बोकेर घर फर्किए ।

विधिवत् विवाहकै लागि पार्वती दुई महिनाअघि कञ्चनपुरबाट बाजुरा आएकी थिइन् । प्रकाश भन्छन्, ‘हामीलाई मन्दिरभित्र पस्नु नै थिएन। देवीलाई चढाउने पूजाको सामान पुजारीले राखिदिए भइहाल्थ्यो।’

पुजारी पाध्यायका छिमेकीहरूका अनुसार उनी बिहानै मन्दिरमा आराधना सकेर सदरमुकामबाहिर काम छ भन्दै निस्केका थिए । उनी अझै सम्पर्कविहीन छन् ।

यता, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का बडिमालिका– ९ का वडाध्यक्ष सूर्यकिरण विकले फोन गरेर घटनाबारे सामान्य जानकारी गराए पनि आधिकारिक रूपमा कुनै सूचना नआएको बताउँछन् ।


प्रतिकृया दिनुहोस्